नेपालमा प्रतिबन्धित नेपाली गाँँजा, युरोपमा खुला, कसरी पुग्छ युरोप?

कुनै समय लागुऔषध मानिँदै आएको गाँजाले अन्तर्राष्ट्रिय स्तरमा वैधानिकता पाउने क्रम बढेको छ। गाँजा भन्ने वित्तिकै धेरैलाई नकारात्मक सोच र एक प्रकारको कडा लागूऔषध भन्ने पर्छ। हिजो म पनि त्यस्तै सोच्थेँ। अर्को कुरा, कसैले गाँजाको कुरा गरेर नेपालमा पनि गाँजा खुला हुनुपर्छ भन्यो आवाज उठाउँदा हाम्रो समाजमा यो त ‘गजडिया’ रहेछ भनेर हेप्ने र तल्ल स्तरको गाली गर्ने सोचाई छ। कसैले ह्वीस्की, वाईन, वियर खाँदै फेसबुकमा फोटो राख्यो भने उसलाई कसैले औंला उठाउँदैन। तर तपाईँ  मात्र २ ग्राम गाजा हातमा राखेर फोटो खिच्नुभयो भने भोलिबाट तपाईको नामै ‘गजडिया’ हुन्छ।

म गाँजाको बारेमा त्यति धेरै जानकार त छैन। तर ह्वीस्की, वाईन र वियर पिउनुभन्दा १५ दिनमा एक पटक एक खिली गाँजा सेवन गर्नु स्वास्थको लागि अत्यन्त उत्तम हुने विज्ञहरूले बताउँदै आएका छन्। अझ गाजाको दाना जसलाई हामी भागो भन्छौं त्यो अचारका लागि अति स्वादिष्ट हो। कतिपय पहाडी जिल्लातिर अझै पनि भागो र खट्टे (चामल भुटेर वनाएको परिकार) भुटेर महमा मोलेर खाजाको रूपमा खाने गर्छन्। म अहिले पनि यस्तो परिकार बनाएर खाइरहेको छु। चुरोटभन्दा गाजा उत्तम हो। गाजा पनि दिनकै २/४ पटक खाने हो भने त यसले स्वास्थलाई नराम्रो असर गर्ला। तर नेपाल सरकारले गाजालाई जुन क्याटेगोरीमा राखिएको छ त्यो दूर्भाग्यपूर्ण छ।

धेरै वर्ष पहिला नेपालमा पनि गाजा वैध थियो। नेपालको पहाडी जिल्लाका गाँजा संसार कै उत्तम मानिन्छ, त्यही गाँजा खान कतिपय पर्यटक नेपाल आउँथे। तर तत्कालिन सरकारले गाजालाई लागू औषधमा राखिदियो। यसरी नेपालले लागू औषधमा राखेको गाजा युरोपमा भने वैध छ। केही वर्ष पहिले डेनमार्कको कोपनहेगनस्थित ओपेरामा काम गर्दैगर्दा एक जना स्थानीय डेनीसले भन्यो, ‘नेपालको मारीज्वाना त कति गज्जव र वासनादार हुन्छ।’ हामीले लगत्तै जवाफ दियौं, ‘होर, नेपालमा त गाजा अवैधानिक छ नि।’ हाम्रो जवाफ सुनेर ऊ हाँस्दै भन्यो, ‘ल हेर, यो नेपालको सिव गाँजा मैले क्रिश्चियन ह्यावेनबाट किनेर ल्याएको हुँ।’ उसका कुरा सुनेर हामी छक्क पर्‍यौं।

केही दिनपछि हामी पनि उसले भने अनुसार कोपनहेगनको क्रिश्चियन ह्यावेन मेट्रो स्टेसन र कोपनहेगन ओपेरा हाउसबीचमा क्रिश्चियन ह्यावेन भन्ने सानो डाँडामा गयौं। त्यसलाई वरिपरि बारे पनि भित्र छिर्नका लागि एउटा ढोका रहेछ। त्यहाँ जो कोही सहजै जान पाउँदा रहेछन्। तर फोटो खिच्न नमिल्ने रहेछ। त्यो भित्र धेरै साना साना पसलहरू छन्। ती पसलमा संसारका विभिन्न देशका गाजा र चरेसहरू पाईन्छन्। त्यहाँ गाँजा र चरेस लिनकै लागि पर्यटकहरू जाने गर्छन्।

एउटा पसलमा भगवान शिवको फोटोसहित नेपाली गाँजा र चरेस बिक्रीमा राखेको हरेछ। अरू पसलमाभन्दा यो अलिक महंगो पर्नेरहेछ। हामीले त्यस पसलमा काम गर्नेलाई सोध्यौ, ‘यो नेपालको लेखेको होला नेपाली होईन होला कि,’ उसले जवाफ दियो, ‘यहाँ जुन देशको उत्पादन हो त्यहीँ लेख्नुपर्छ। अरू लेख्न पाईदैन।’ त्यसपछि हामी त्यहाँका विभिन्न पसलहरू घुम्यौं। त्यहाँ गाजा र चरेस किन्ने र खानेको घुईँचो थियो। मसँगै गएका साथीले हाँस्दै भने, ‘अब हामी नेपालीहरू आफ्नै देसको गाँजा र चरेस खान पनि कोपनहेगन पो आउनु पर्ने भयो।’

केही समयपछि हामी डेनमार्कबाट जर्मन हुँदै नेदरल्यान्डको राजधानी आमस्टर्डम् पुग्यौ। त्यहाँ त गाँजा, चरेसलगायतको बार नै हुँदो रहेछ। आमस्टर्डमबाट केही किलोमिटर टाढाको दुरीमा एउटा गाँजा बार रहेछ। त्यहाँ पनि नेपालसहित विभिन्न देशका गाँजा र चरेसहरू लहरै राखिएको थियो। आफूले रोजेर किन्न पाइन्थ्यो। जब म नेदरल्यान्डको आमस्टर्डम र कोपनहेगनको क्रिश्चियन ह्यावन अवलोकन गरेँ। त्यसपछि थाहा भयो कि, गाँजा पर्यटनको लागि एउटा मेरूदण्ड नै रहेछ। यो सँगै अर्थतन्त्रको ठूलो हिस्सासमेत यसले ओगट्ने रहेछ। सम्भवतः यी पर्यटन नेपालले तान्नसक्ने भन्दै तत्कालिन राजा र संसदलाई विदेसीले प्रलोभनमा पारेर नेपालमा गाँजा प्रतिवन्ध गर्न लगाएको हुन् कि भन्ने आशंका उब्जियो।

युरोपका प्रायः देसमा गाजाको व्यापार

पछिल्लो केही वर्षदेखि म पोर्चुगलमा छु। यहाँ राजधानी लिजवनको पर्यटकीयस्थलमा गाँजा बेच्नेको लाईननै हुन्छ। पसल राखेरनै गाँजा बेच्न नपाए पनि सडकमा पर्यटकलाई गाँजा बेच्ने प्रसस्तै भेटिन्छन्। १/२ ग्राम गाजालाई यहाँ नेपालको जसरी अपराधी सम्झेर सजाय दिँदैनन्। पोर्चुगलसहित पोल्यान्ड, इटाली, स्पेनसहित अधिकांश युरोपियन मुलुकमा पर्यटकले निर्वाध रूपमा गाँजा सेवन गरिरहेका हुन्छन्।

नेपालमा गाँजा प्रतिबन्ध, तस्करलाई भर्‍याङ

२ वर्ष पहिले हामी केही विदेसीसँग नेपाल गएको थियौं। त्यतिबेला ठमेलमा गाँजा बेच्नको लागि तस्करले युवा खटाएका हुँदा रहेछन्। नेपालमा प्रतिवन्ध भन्दै चर्को मूल्यमा विदेशीलाई गाँजा विक्री गर्ने तस्कर मोटाउने धन्दा नराम्रोसँग फैलिरहेको रहेछ। एकातिर गाँजा अवैध हो, भन्दै गाँजाको रूख फडानी गर्दै प्रहरी हिँड्ने। अर्कोतिर गाउँगाउँबाट सस्तो मुल्यमा ल्याएर सहरमा चर्को मूल्यमा बेचेर तस्कर मोटाउने काम भइरहेको छ।

ठमेलमा यस्तो ब्यापार गर्नेले कोड नाम राखेका हुँदा रहेछन्। विगत ५ वर्षदेखि गाँजा बेच्दै आएका एक जना व्यापारीको नाम सुँगुर रे। उनलाई फोन गरेर सुँगुर भनेर बोलाएपछि उनी यो चै ग्राहक हो, अनि यो माल (गाजा) लिएर आएको छ भनेर बुझ्दा रहेछन्। गाँजा व्यापारी भएर केही समय उनीसँग भलाकुसारी गरेँ। उनले यही पेसाबाट २ छोरा छोरी पढाएका रहेछन्। परिवार पालेका रहेछन्। ‘सरकारले गाँजालाई अवैध भनेको छ। हामीले किन्ने डिलरमा बोराका बोरा गाँजा छ। साहुजीको २/३ वटा गाडी छन्। सरकारले गाँजा प्रतिबन्ध गरेर १/२ व्यापारी मोटाएको छन् बरू यो खुला गरिदिए त सबैलाई फाईदा हुन्थ्यो,’ उनले गुनासो गरे।

गाजा प्रतिवन्ध भने पनि तस्करले पोखरा, चितवन, लुम्बिनीलगायतका स्थानमा चर्को मुल्यमा गाँजा बेच्न एजेन्ट राखेको छन्। वैदाम, टायमपास, अमिगो, तोमोदाचीलगायतका कोड नाम राखेका उनीहरू गाँजा बेच्ने गर्दा रहेछन्। लुम्बिनीमा केही रिक्साचालकसमेत गाँजा बेच्ने काम गर्दा रहेछन्। तर सबै फाईदा तस्करलाई जानेरहेछ।

के भन्छन् पर्यटक

केही वर्ष पहिला जापानी नागरिक तोमोया सान नेपाल आए। उनी नेपालमा गाँजा सेवन गर्नकै लागि नेपाल आएका थिए। तर यहाँ उनले सोचेजस्तो पाएनन्। कयौं गुणा महंगो मुल्य तिरेपछि मात्र उनले गाँजा पाए। तेस्तै डेनमार्कबाट युनुस र मार्टीन कोपनहेगनभन्दा सस्तो मुल्यमा गाँजा खान पाइन्छ भन्दै नेपाल गए। तर उनीहरूले सोचेभन्दा ठिक विपरित भयो। यहाँ क्रिश्चियनह्यावेनमा भन्दा २ गुणा महंगो मुल्यामा गाँजा किन्न बाध्य भए।

उनीहरूले यहाँ किन यति महंगो भनेर सोध्धा, ‘यहाँ गाजा अवैध छ। हामीले प्रहरी, डिलर लगायतलाई बुझाएर लुकाएर बेच्नुपर्ने हुँदा यति मुल्य परेको बताउँदा रहेछन्। नेपालमा उच्चकोटीको गाँजा पाईने भन्दै गाँजा सेवनसँगै १/२ हप्ता नेपालमा बिताउन चाहने धेरै छन्। तर नेपालमा गाँजा प्रतिवन्ध हुनुका साथै चर्को मुल्यमा खरिद गर्नुपर्ने भएकाले यसबारे बुझेका पर्यटक नेपाल आउनुको सट्टा नेपाली गाँजा खानकै लागि अन्य मुलुक रोज्ने गर्छन्।

नेपालमा पनि गाँजा वैध गरियोस्

कोपनहेगनको क्रिश्चियन ह्यावेनमा जस्तै नेपालमा पनि सरकारले केही निश्चित स्थान तोकेर पर्यटकलाई लक्षित गर्दै लाईसेन्स लिएर र सरकारलाई निश्चित कर बुझाएर गाँजा बिक्री खुला गर्नुपर्छ।  सिमीत एरियामा खान पाईने र १८ वर्ष माथिका पर्यटकलाई लक्षित गरि गाँजा सेवन केन्द्र खुला गर्नुपर्छ। साथै अलि कम आय भएका गाउँमा त्यहीँ उत्पादन हुने गाँजालाई ग्रामीण पर्यटकीय अवधारणामा ल्याएर गाउँपालिकाकै अग्रसरतामा पर्यटकको लागि सहज बनाउनुपर्छ। यसका लागि रिसोर्ट, होमस्टे लगायतका पर्यटकलाई राख्न मिल्ने स्थान बनाउन अनुमति दिनुपर्छ। वाग्लुङको ताराखोला, म्याग्दीको वुर्जा, पर्वतको वनौक्याङ, जुम्ला, हुम्ला, रूकुम लगायत पिछडिएका जिल्लामा पर्यटक केन्द्रीत गाँजा सेवन केन्द्र बनाएर स्थानीय सरकारले नै त्यहाँबाट गाँजा मात्र नभई गाजाजन्य  बस्तु तथा सेवा उत्पादन गरेर मनग्य आय आर्जन गर्न सकिन्छ। नेपालमा यतिवेला गाँजा वैधानिकरणका लागि धेरै जुट्नुभएको छ। नेपालमा गाँजा वैधानिकरण गरेर गाउँ गाउँका जनतालाई आयआर्जन वृद्धि गरि जीवन सरल र सहज बनाएसँगै देशकै अर्थतन्त्र बलियो हुने भन्दै पूर्व सचिव भिम उपाध्याय, सांसद विरोध खतिवडालगायतक केही सामाजिक अभियानकर्ताले आवाज उठाइरहेका छन्।

विदेसीको चलाखीपूर्ण चालवाजीमा लागेर उनीहरूले गाँजा प्रतिबन्ध गराउन सफल भए। तर गाँजाभन्दा बीसौं गुणा स्वास्थ्यमा नकारात्मक असर पार्ने व्हीस्की, वाईन, चुरोट विँडीलगायत नेपालमा निर्यात गरि सहज बिक्री बितरण भइरहेको छ। यदि नेपालमा पनि गाँजा वैध हुन्थ्यो भने हामी आफ्नै देशमा उत्पादन भएका गाँजा किन्न युरोप पुग्नु पर्दैन थियो। अनि युरोप,अमेरिका र अस्ट्रेलीयालगायतका विकसित मुलुकका पर्यटकहरू नेपालको गाँजा खानकै लागि वार्षिक लाखौंको संख्यामा नेपाल भ्रमण गर्ने थिए।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात–निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो। यसले गाँजा उत्पादन र सेवन गैरकानुनी भयो। आयुर्वेदिक औषधि पनि बन्द भए।

मध्यपश्चिम पहाडको दैनिक व्यवहारमा पनि गाँजा उपयोगी छ। यसले दाउरा आपूर्ति गर्छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ। गाँजाका फाइदा र विश्वव्यापी वैधानिकता पाउने क्रम हेरेर नेपालले नीतिगत परिमार्जन र अनुसन्धान तीव्र पार्नुपर्ने विज्ञ बताउँछन्। युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतले गाँजा खुला गर्न अपनाएका नीति र कदमबाट सिक्दै अघि बढ्ने मौका हामीसँग छ।
Next Post Previous Post
No Comment
Add Comment
comment url