बौद्धिक बहस, के हुनुपर्छ बौद्धिक बर्गको भूमिका ?

समाज भयावह हुनुमा जति खराब आचरणको भूमिका हुन्छ, त्यसभन्दा बढी विद्वान्हरूको तटस्थता जिम्मेवार हुन्छ

के हो बौद्धिकता ? के उचित समयमा उचित आवाज नबोल्नु बौद्धिकता हो ? जटिल परिस्थितिमा पनि घटनाक्रमको गम्भीरतालाई नजरअन्दाज गरी घटनामाथि बुद्धिविलास गर्नु बौद्धिकता हो ? वा, समयको गाम्भीर्यलाई बेवास्ता गरेर समय घर्किसकेपछि कुरा चपाएर अमूर्त धारणा व्यक्त गर्नु बौद्धिकता हो ? आखिर के हो बौद्धिकता ? अनि को हुन् बौद्धिक व्यक्ति ? कवि, कलाकार, पत्रकार, लेखक, विचारक, विश्लेषक, दार्शनिक, राजनीतिज्ञ ? या, अरू नै कोही ?

अमेरिकी प्राज्ञ इमर्सनले भनेका छन्, ‘अमेरिकी बुद्धिजीवी भनेको एउटा पूर्ण मानव हो, जो निरन्तर सोचिरहन्छ ।’ एउटा बुद्धिजीवीले निरन्तर सोचिरहन्छ भने आखिर के सोचिरहेका छन्, हाम्रो देशका बौद्धिकहरू ? अनि, हामीकहाँ सोच्नेहरूको जमात कत्रो छ ? सोचिरहेकाहरूको सोच कस्तो प्रकृतिको छ ? त्यो सोचको दायरा कत्तिको फराकिलो र फलदायी छ ?

ऐतिहासिक कथन : बौद्धिकताको परिभाषा तथा बुद्धिजीवीहरूको सीमितता र मापदण्डको रेखा खोज्दै गर्दा हामीले इतिहासका बौद्धिकतामाथिका विमर्शहरूसँग ठोक्किनुपर्छ । ती विमर्शहरू, जसले पहिल्यै अग्रगामी र पश्चगामी बौद्धिकताबीचको सीमारेखा कोरेर नयाँ पुस्ताका लागि स्पष्ट मार्गनिर्देशन गरिसकेका छन् । जर्मन दार्शनिक कार्ल माक्र्सले ‘बौद्धिक उत्पादन पनि वर्गीय हुने’ उल्लेख गरेका छन् । अर्का विचारक लेनिनको मत पनि भिन्न छैन । उनी भन्छन्, ‘बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ ।’ उनका अनुसार बुद्धिजीवीको उत्पादन र वृद्धि समाजबाटै हुन्छ । यद्यपि, ऊ त्यतिवेला मात्र बुद्धिजीवी ठहरिन्छ, जब समाजबाट विचारको निर्माण गर्दै त्यही समाजसँग अन्तक्र्रिया गर्न ऊ सक्षम हुन्छ ।

विश्वप्रसिद्ध चिन्तक एन्टेनियो ग्राम्सीले त झन् ‘बुद्धिजीवीको भूमिका’को विषयमा बहस नै छेडेका छन् । उनी विश्व र जगत्लाई हेर्ने आफ्नै फरक दृष्टिकोण निर्माण गर्ने समाजका सबैलाई दार्शनिक वा बुद्धिजीवी त मान्छन्, तर लेनिनले जस्तै सबै बौद्धिकले बुद्धिजीवीको कार्य गर्न नसक्ने धारणा व्यक्त गर्छन् । ग्राम्सीका अनुसार समाजमा तीन खालका बुद्धिजीवी हुन्छन्– परम्परागत, प्राविधिक वा प्रशासनिक र जैविक बुद्धिजीवी । यी तीनै तप्काका बुद्धिजीवीले समाजमा आ–आफ्नो श्रेणी र वर्गअनुसारकै भूमिका खेल्नेमा उनले विशद प्रकाश पारेका छन् ।

सत्ता सधैँ जनतालाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्ने ध्येयमा निरन्तर लागिरहेको हुन्छ । सत्ताको यो कूटनीति सर्वसाधारण जनताले बुझ्न सक्दैनन् र उनीहरू सत्ताको झुटो जालमा फस्न पुग्छन् ।

हाम्रो समाज वर्गीय छ र वर्गीय समाजमा स्वभावैले बुद्धिजीवीको निर्माण, विकास र भूमिका पनि वर्गीय नै हुने गर्छ । माक्र्स, लेनिन र ग्राम्सीले परिभाषित गरेजस्तै वर्गअनुसारको अभिव्यक्ति दिने बुद्धिजीवी आफैँमा वर्गीय हुने गर्छन् । उनीहरूको क्रियाकलापले आ–आफ्नो वर्गसापेक्षमा समाजमा सकारात्मक या नकारात्मक भूमिका निर्वाह गर्नेमा पनि कुनै शंका भएन । अब प्रश्न उठ्छ, हामी कुन तप्काका बुद्धिजीवी हौँ ? हाम्रो वर्गीय पक्षधरता के हो ? हामी कहाँ, किन र कसको पक्ष वा विपक्षमा बोल्छौँ वा बोल्नुपर्छ ? समाजमा हामीले सकारात्मक वा नकारात्मक कस्तो भूमिका निर्वाह गरिरहेका छौँ र गरिरहन्छौँ ?

अर्का अमेरिकी बौद्धिक नोम चोम्स्कीले बुद्धिजीवीहरूको उत्तरदायित्वमाथि प्रकाश पार्दै भनेका छन्, ‘सत्य बताउनु र झुटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो ।’ चोम्स्कीको शब्दमा बौद्धिक वर्ग सधैँ सत्ताको विपक्षमा उभिएको हुन्छ । सत्ता सधैँ जनतालाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्ने ध्येयमा निरन्तर लागिरहेको हुन्छ । सत्ताको यो कूटनीति सर्वसाधारण जनताले बुझ्न सक्दैनन् र उनीहरू सत्ताको झुटो जालमा फस्न पुग्छन् । तसर्थ, सत्यतथ्यलाई सर्वसाधारणसामु पुर्‍याउने र बुझाउने दायित्व बौद्धिकहरूले नै निर्वाह गर्नुपर्छ ।

चोम्स्कीकै जस्तो मत छ, अर्का अमेरिकी लेखक क्रिस्टोफर हिचेन्स्कोको । उनका शब्दमा ‘बौद्धिकहरूलाई सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु सत्य बोल्ने क्षमता भने उसमा हुनैपर्छ ।’ सत्यको पहिचान र सत्यको साथमा उभिएर झुटको पर्दा उघार्न सदा प्रयत्नशील हुन्छ, बौद्धिक । यसो भन्दै गर्दा यहाँ अर्को सवाल पनि खडा हुन्छ, आखिर सत्य के हो र झुट के हो ? यसका मापदण्ड के–के हुन् ? सत्यको पहिचान कसरी गर्ने ? २० औँ शताब्दीका जर्मन कवि, नाटक तथा निबन्धकार बर्तोल्त ब्रेख्तले ‘सत्य लेख्दा आइलाग्ने पाँच कठिनाइ’ बारे उल्लेख गरेका छन् । झुट तथा अज्ञानताको विरोध गर्न र सत्य लेख्न चाहने जोसुकैले सत्य लेख्ने साहस, सत्यलाई चिन्ने उच्च सजगता, सत्यलाई हतियारको रूपमा कुशलताका साथ प्रयोग गर्ने सीप, ती मानिसहरूको छनोट गर्ने बुद्धिमता, जसका हातमा सत्य प्रभावकारी होओस् र धेरै मानिसको बीचमा सत्यलाई पुर्‍याउने चतुर्‍याइँजस्ता कम्तीमा पनि पाँच कठिनाइमाथि विजय प्राप्त गर्नैपर्ने उनको धारणा छ ।

ब्रेख्त लेख्छन्, ‘सर्वत्र सत्यको विरोध भइरहेको वेला लेखकमा सत्य लेख्ने साहस हुनैपर्छ ।’ सत्य सर्वत्र छद्म रूपमा रहने हुँदा लेखकमा सत्यलाई चिन्ने उच्च सजगता र सत्यलाई हतियारको रूपमा प्रयोग गर्ने सीप पनि हुनैपर्छ, सत्य कसको सामु पुर्‍याउने र कसरी फैलाउने भन्नेमा पनि लेखक उत्तिकै सजग हुनुपर्छ । ब्रेख्तका यी सूत्रहरू सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने हरेक बौद्धिक तप्काका निम्ति आज पनि उत्तिकै प्रभावकारी छन् ।

हाम्रो समाज र बुद्धिजीवी : वर्तमान धरातल र हाम्रो परिवेशमा पनि विभिन्न समसामयिक क्रियाकलापहरूबाट बौद्धिक भूमिका निर्वाह गरिरहेका अनुहारहरू छन् । ती विभिन्न श्रेणी र तप्कामा छन् । बौद्धिकताका आ–आफ्नै परिभाषा र प्रकारहरू छन् । एकाध आफूलाई उच्च बौद्धिक सम्झिने प्रवृत्तिका मानिस भीड तथा होहल्लाबाट टाढा र प्रत्यक्ष जनजीवनसँग सम्बन्धित चर्का मुद्दाहरूमा बेखबर रहने गर्छन् । उनीहरू आफूलाई कुनै पनि विषयवस्तुमा विवादित बनाउन चाहँदैनन् । बरु घटनाक्रमको पृष्ठभूमिमा उभिएर विलम्ब गरी विचार विमर्श गर्छन् र आफ्नो भद्र बौद्धिकताको ट्यागलाई निरन्तर बचाइराख्छन् ।

तर, यस्तो भद्रता एकदमै घातक हुन्छ । महाभारतमा एउटा दृश्य छ– द्रौपदी चिरहरणको । एक स्त्री राजा महाराजा र भद्र भलाद्मी उपस्थित सार्वजनिक सभामा आएर आफ्नो अस्मिता बचाउका निम्ति याचना गर्छिन् । उपस्थित ज्ञानी, भद्र र विदुर व्यक्तित्वहरू गलत कार्य भन्ने जान्दाजान्दै पनि त्यसको प्रतिवाद गर्न सक्दैनन् । सत्ता र शक्तिको आडम्बरका अघिल्तिर तिनको न्यायप्रतिको प्रतिबद्धता एवं मानवता र सत्यप्रतिको निष्ठा नतमस्तक हुन पुग्छ । उनीहरूको ज्ञान र विवेकले एक स्त्रीमाथि हुँदै गरेको अन्यायमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैन । कालान्तरमा तिनै ज्ञानी र बौद्धिकहरूको मौनताले कुरुक्षेत्रको द्वन्द्व निम्त्याउँछ, नतिजा साँच्चिकै भयानक हुन पुग्छ ।

वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘समाज भयावह हुनुमा जति खराब आचरणको भूमिका हुन्छ, त्यसभन्दा बढी विद्वान्हरूको तटस्थता जिम्मेवार हुन्छ ।’ उचित समयमा उचित आवाज नउठाई, निश्चित समयमा निश्चित प्रतिवाद नगरी र आवश्यक समयमा आवश्यक कदम नचाली पृष्ठभूमिमा मौन विश्लेषण गर्दै घटनाक्रमको मूकदर्शक बन्ने तथा आफूले प्राप्त गरेको ज्ञानलाई आवश्यक ठाउँमा प्रयोग गरी समस्या समाधान या समाज रूपान्तरणका लागि भूमिका नखेली केवल बुद्धिविलासमा रमाएर बस्ने कथित बौद्धिकहरू आइन्स्टाइनले अथ्र्याए जस्तै अहिलेको समयका घातक बुद्धिजीवीहरू हुन् । 

बौद्धिकताको ट्याग भिरेर सत्ताको वरिपरि घुम्ने, कुनै राजनीतिक तथा सामाजिक संघसंस्थामा बाँधिएर सत्य नबोल्ने, आलोचनात्मक हैसियत गुमाइसकेका बुद्धिजीवीहरूबाट हाम्रो समाजले कस्तो र कुनखाले योगदानको अपेक्षा गर्न सक्छ र ?

त्यस्तै, वर्गीय पक्षधरता नभएको अर्को बौद्धिक तप्का छ, हाम्रो समाजमा । उनीहरू एकैसाथ दुईवटै सिक्का आफ्नो पोल्टामा पार्न चाहन्छन्, अर्थात् तिनलाई एकैसाथ दुई पाखामै घाम चाहिन्छ । तर, तिनले बुझ्नुपर्छ कि वर्गीय समाजमा एकैपटक सबै वर्ग र समुदायको रक्षक र प्रिय बन्न असम्भव छ । शोषक तथा उत्पीडकहरूप्रति उदार बनेर शोषित तथा उत्पीडित वर्गका निम्ति उचित आवाज उठाउन सकिँदैन । न्यायोचित यही हुन्छ कि लडेको मान्छेलाई हात दिँदै गर्दा लडाउने मान्छेसँगको हात छुटाउनैपर्छ, अर्थात् थिचिरहेको वर्गको हैकमलाई नतोडी थिचिएकाहरूको मुक्ति असम्भव छ ।

नेपाली बौद्धिक र उनीहरूको भूमिकाबारे सन् १९७० को दशकमै अध्ययन गरेका प्राध्यापक कमलप्रकाश मल्ल भन्छन्, ‘बौद्धिक वर्ग समाजमा यस्ता स्थायी प्रतिपक्षी हुन्, जसले चलिरहेका संस्था, मूल्य मान्यता, व्यवहार, रवैया र बेकारका परम्पराहरूमाथि सधैँ आलोचनात्मक दृष्टिकोण राख्छन् ।’ बौद्धिकताको ट्याग भिरेर सत्ताको वरिपरि घुम्ने, कुनै राजनीतिक तथा सामाजिक संघसंस्थामा बाँधिएर सत्य नबोल्ने, आलोचनात्मक हैसियत गुमाइसकेका बुद्धिजीवीहरूबाट हाम्रो समाजले कस्तो र कुनखाले योगदानको अपेक्षा गर्न सक्छ र ? जसले सत्ता, शक्ति र आफूनिकटका निश्चित राजनीतिक संघसंस्थाका गलत कदम र ज्यादतीहरूमा मौन बसेर अघोषित समर्थन जनाइरहेका हुन्छन् । जो आज पनि १८औँ शताब्दीभन्दा पनि अघिदेखिका कुसंस्कार, मूल्य र मान्यताहरूको मुखर भएर विरोध जनाउन सक्दैनन् । जो रूढिवादी परम्परा, विभेद र हिंसाजस्ता समसामयिक सामाजिक मुद्दाहरूमा अगाडि नदेखिएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्यायकै साक्षी र पुरातनपन्थी विचारको पक्षधर बन्दछन् । यो तप्कालाई कुन आधारमा बुद्धिजीवी मान्न सकिएला ?

साँचो अर्थमा बुद्धिजीवीको मर्मलाई न्याय तिनै बौद्धिकले मात्र गर्न सक्छन्, जो सदा हरेक प्रकारका प्रतिगमनका विरुद्ध खरो उत्रिन्छन्, सत्ता र शक्तिको केन्द्रमा रहेर स्वेच्छाचारिता लाद्न तल्लीनका विरुद्ध कडा संघर्ष गर्छन् र अग्रगामी परिवर्तनको वाहक बन्छन् । समाजलाई यथास्थितिमा कैद गरेर कुनै बन्द पोखरीजस्तो दुर्गन्धित स्वरूप दिँदैनन्, न त युगलाई प्रतिगमनतिरै फर्काउन टेवा पुर्‍याउँछन् ।

साँचो अर्थमा बौद्धिक तिनै हुन्, जो खराब प्रवृत्तिको निडरतापूर्वक प्रतिवाद गर्छन् । सत्य र न्यायको पक्षमा बोल्दै गर्दा गुटबन्दी या आफू आबद्ध संस्थाका सीमारेखाहरू पनि तोड्न सक्छन् । जो आफूसँग भएको ज्ञान, विवेक र चेतनालाई सम्पूर्ण शोषित, उत्पीडित तथा सीमान्तीकृतहरूको न्यायको पक्षमा प्रयोग गर्छन् । सत्य र न्यायको आवाज बुलन्द गर्दा जसका हात र मुखहरू काँप्दैनन्, उनीहरू नै साँचो अर्थमा समाजमा बौद्धिकताको भूमिका खेल्न सक्नेहरू हुन् । ग्राम्सीले भनेजस्तै सबै बुद्धिजीवीहरू बौद्धिकको भूमिका निर्वाह गर्न सकिरहेका हुँदैनन् । हाम्रो समाजमा अधिकांश मूलधारका कहलिएका लेखक, चिन्तक एवं कलाकारहरूको सामाजिक मुद्दाहरूप्रतिको अत्यासलाग्दो मौनताले भन्छ कि यहाँका अधिकांश बुद्धिजीवीहरू यही समूहअन्तर्गत पर्छन् ।

स्वतन्त्र बौद्धिकहरूको आवश्यकता : शक्ति र सत्ताको दुरुपयोग गरी लादिने निरंकुशताविरुद्ध जनहित तथा सामाजिक न्यायको पक्षमा खुलेर बोल्ने वा लेख्ने बौद्धिक तप्कालाई ‘पब्लिक इन्टलेक्चुअल’ पनि भन्ने गरिन्छ । उनीहरू कोरा र कोठे प्राज्ञिक बहसमा मात्रै अल्झिँदैनन् । अमिताई इत्जियोनीले आफ्नो पुस्तक ‘पब्लिक इन्टेलेक्चुअल’मा भनेझैँ सार्वजनिक सरोकारका विषयमा खुलेर बहसमा उत्रिन्छन् र विचार निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्छन् ।

अहिले पनि हामीसँग नोम चोम्स्कीदेखि जेएम कोट्जी र अरुन्धती रोयसम्म यो तप्काका बौद्धिकहरू छन् । उम्बर्तो इको, अमत्र्य सेन, जुलिया क्रिस्टेभा, ओले सोयङ्का, चिनुवा आचेबेलगायतका लेखक तथा चिन्तकदेखि पल रब्सन, पिट सिजर, बब डिलनजस्ता गायक–कलाकारसम्मले शक्ति र सत्ताको कत्ति पनि प्रभावमा नपरी सार्वजनिक महत्व र सामाजिक न्यायको सवालमा खुलेर आफ्ना धारणाहरू राखेको नजिर हामीसँग छ ।

त्यसो त ‘अर्थोडक्स’ समाजमा प्रगतिशील विचारधारा पस्किनु त्यति सहज नहुन पनि सक्छ । सत्ता र शक्तिको दुरुपयोग र विभेदकारी संरचनाविरुद्ध आवाज उठाइरहँदा भारतमै गौरी लंकेश, एमएम कुलबुर्गी, गोविन्द पानसारेजस्ता बौद्धिकको हत्या भएको छ । यो हदसम्मको त्रासदी नेपालका बौद्धिक कहलिएकाहरूलाई छैन । यद्यपि, सबैभन्दा ताजुब लाग्ने विषय यो छ कि हाम्रा अधिकांश मूलधारका बौद्धिक एवं सेलेब्रिटी कलाकारहरू शक्ति र सत्ताको स्वेच्छाचारिताविरुद्ध चुँइक्क बोल्दैनन् । पछिल्ला घटनाहरू जस्तै– निर्मला पन्त हत्या, रुकुम हत्याकाण्ड, गीता ढकालदेखि भागीरथी भट्टसम्म आइपुग्दा उत्पीडनका मुद्दामा मौन बसेका बुद्धिजीवी अनुहारहरू हाम्रो अघिल्तिर छरपस्ट नै छन् । आखिर केले थुनेको छ तिनको मुख ? केले रोकेको छ तिनको कलम ? यथास्थितिमै रमाउन तिनलाई केले उत्प्रेरित गरिरहेको छ ?

निःसन्देह हाम्रो मूलधारको बौद्धिक जमात अझै पनि सत्ताको गुलामी र नोकरशाही प्रवृत्तिको दासताबाट माथि उठ्न सकेको छैन । यथास्थितिमा सत्ताको गुलामी भजाएर आफ्नो दुनो सोझ्याउनु नै यिनको एक मात्र ध्येय बनेको छ । समाजलाई मुक्त गर्नु छ र विभेदकारी राजनीतिक–सामाजिक–सांस्कृतिक संरचना भत्काउनु छ भने सबैभन्दा पहिला त विचारधाराको निर्माण हुनुपर्छ र यो जिम्मेवारी बौद्धिकहरूकै हो । गुलामी र दासत्वमा जेलिएको कथित बौद्धिक तप्काबाट त्यो विचारधाराको निर्माण किमार्थ सम्भव हुँदैन । 

कोभिड महामारीको नियन्त्रणसँगै उपचारमा असफल बनिरहेको सरकारद्वारा ज्यालादारी श्रमिक तथा निम्न तहका गरीखाने विपन्न वर्गप्रतिको अनुदारता र सिंगो सिस्टमलाई नै हातमा लिएर चालिएको प्रतिगामी कदमका विरुद्ध एउटा बौद्धिक तप्का अहिले ‘बृहत् नागरिक आन्दोलन’को नाममा सक्रिय छ । बृहत् नागरिक आन्दोलन अहिलेको समयको एउटा बौद्धिक स्पेस हो भन्न हिचकिचाइरहनु पर्दैन । तर, यो आन्दोलनको सफलता वा असफलता भने प्रत्यक्ष देखिने र नदेखिने सत्ता र शक्तिको प्रभावबाट कत्तिको मुक्त भई यसमा आबद्ध बौद्धिकहरूले सामाजिक मुद्दाहरूमा वकालत गर्न सक्छन् भन्नेले नै निर्धारण गर्नेछ । बृहत् नागरिक आन्दोलनको सीमितता र पक्षधरताबारे भने बारम्बार प्रश्न उठिरहेको छ, प्रश्न उठ्नु जायज पनि छ । समस्या के हो र समाधान केलाई मान्ने ? आन्दोलन केका निम्ति ? समस्या व्यक्ति कि प्रवृत्ति ? सिंगो व्यवस्थामै समस्या छ भने सुधारवादी आन्दोलनमा केन्द्रित हुनुले के समस्याको समाधान गर्न सक्छ ? के समाधानका लागि यो व्यवस्थाकै विकल्प खोज्ने अग्रगामी एजेन्डा बोक्नु पर्दैन ? यी अहिलेका यक्ष प्रश्न हुन् ।

    एउटा ओलीरूपी प्रवृत्तिको पतन र अर्को उस्तै प्रवृत्तिको पुनरोदयका लागि लामो समयदेखि चलिरहेको सत्ताको फोहोरी खेल हेर्न हामी विवश छौँ । सरकार, व्यवस्था, सत्तालिप्सा एवं समसामयिक आर्थिक–राजनीतिक–सांस्कृतिक–सामाजिक सवालहरूमा प्रश्न गर्ने प्रश्नकर्ता स्वयं पनि प्रश्नहरूको कठघरामा उभिनु आवश्यक छ । जब प्रश्नहरू स्वयं विचार र बहसको बाटो हुँदै प्रश्नहरूकै कसौटीबाट गुज्रिन्छन्, तब ताजा र नवीन विचारको अभ्युदय हुन पुग्छ । लामो समयदेखि एउटै लय र रफ्तारमा हिँडेको बौद्धिकताको सिलसिलामा क्रमभंगता ल्याउन सक्ने आन्दोलन र बौद्धिक गतिविधिमा संलग्न बौद्धिक तप्कालाई समेत जायज सवालहरूको कठघरामा उभ्याएर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने नयाँ पुस्ताको उदय अब बौद्धिक स्पेसमा अत्यावश्यक भइसकेको छ ।

Next Post Previous Post
No Comment
Add Comment
comment url