मन्त्रीको बायोडाटा : के–के छन् योग्यता ?
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।
ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।
पछिल्लोपटक नियुक्त भएका मन्त्रीहरुको व्यक्तिगत विवरण यस्तो छ–
खगराज अधिकारी : गृहमन्त्री
पोखरा महानगरपालिका ३१ स्थायी घर भएका अधिकारी एमालेका निवर्तमान सांसद हुन् । २०१८ चैत १३ मा जन्मेका उनका श्रीमती र एक छोरी छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर हो ।२०२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक थालेका अधिकारी एमालेका पुराना नेता मानिन्छन् । २०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०४६ देखि २०५२ सालसम्म नेकपा मालेको कास्की जिल्ला सचिव थिए । २०६५ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल सचिव र अञ्चल इञ्चार्ज भए ।
एमालेको अनुशासन कमिटीको केन्द्रीय सदस्य एवं केन्द्रीय सल्लाहकार परिषदको उपाध्यक्षसम्म भएका अधिकारी २०७५ जेठपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सहइञ्चार्ज बने ।
२०५१ को मध्यावधि निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेको अधिकारी तीनपटक सांसद बनेका व्यक्ति हुन् । २०५६ मा कास्कीबाट निर्वाचित उनी २०७४ मा कास्की १ बाट निर्वाचित भए । पार्टी एकीकरण पूर्व संसदमा तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका अधिकारी २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।
राजकिशोर यादव : उद्योग मन्त्री
सिराहाका निवर्तमान सांसद एवं जसपाका नेता राजकिशोर यादव विहीबार दोस्रो चरणमा मन्त्रि नियुक्त भएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।२०३० साल साउन १८ गते जन्मेका मन्त्री यादवका श्रीमती, दुई छोरा र एक छोरी छन् । श्रीमती सरिताकुमारी यादव पूर्वसभासद हुन् ।
इन्जिनियरिङ पढेका यादव २०६० सालदेखि मधेसी जनअधिकार फोरममा आबद्ध भई सक्रिय राजनीतिमा आएका हुन् । उपेन्द्य्र यादवको पार्टीबाट अलग भएपछि २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरेर यादव अध्यक्ष बनेका थिए । उनको पार्टी राजपामा समाहित भयो र पछि राजपा र समाजवादी मिलेर जसपा बन्यो । २०७२ वैशाखमा मधेस केन्द्रित दलहरू एकीकृत हुँदा राजपामा उनी अध्यक्ष मण्डलको सदस्य थिए ।
संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सिरहाबाट यादव निर्वाचित भएका थिए । २०७४ को चुनावमा उनी सिरहा ४ बाट निर्वाचित भए ।
२०६८ सालमा यादवले सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । त्यसबेला उनले सरकारको प्रवक्ताको जिम्मेवारी पनि निभाएका थिए ।
नैनकला थापा : सञ्चार तथा सूचना प्रविधि मन्त्री
नैनकला थापा एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन् । २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा उनी पनि बादलसँगै भूमिगत भएकी थिइन् ।माओवादी शान्ति प्रक्रियामा आएपछि उनले महिला आयोगको अध्यक्ष पद हात पारेकी थिइन् । बादलसँग उनको २०४० सालमा बिवाह भएको हो । बादल एमाले प्रवेशसँगै उनले एमाले नेतृत्वको कामचलाउ सरकारमा मन्त्री बन्ने अवसर पाइन् ।
ज्वालाकुमारी साह : कृषिमन्त्री
पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी हुन् । माओवादी छाडेर एमालेमा आगेपछि उनको प्रदेसभा सदस्य पद गयो । तर, उनले संघीय सरकारको मन्त्री बन्ने मौका पाएकी छिन् ।नारदमुनि राना : वनमन्त्री
कैलालीको धनगढी नगरपालिकाका नारदमुनि राना गत चुनावमा काँग्रेस नेतृ आरजु देउवालाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । हाल घट्टेकुलोमा बस्दै आएका उनी २०२९ बैशाख १९ गते जन्मेका हुन् । उनका श्रीमती, ३ छोरा र २ छोरी छन् । रानाले स्नातकोत्तर अध्ययन गरेका छन् ।२०४३ सालमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटीबाट राजनीति गरेका उनले २०४७ मा तत्कालीन एमालेको संगठित सदस्यता पाए । पार्टीको वडा सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटीसम्मको जिम्मेवारीमा पुगे । ०७५ सालमा उनी नेकपाको केन्द्रीय सदस्य बने ।
राजनीतिमा होल टाइमर हुनु अघिसम्म कानुन व्यवसाय गरेका राना २०६४ मा एमालेका तर्फबाट समानुपातिक सभासद बनेका थिए । २०७४ मा कैलाली ५ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भए ।
गणेशकुमार पहाडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
सिन्धुलीको फिक्कल गाउँपालिकामा जन्मेका गणेश पहाडी माधव नेपाल समूह छाडेर मन्त्री बनेका हुन् । श्रीमती, एक छोरी र एक छोरा रहेका उनले सिभिल इन्जिनियरिङका साथै समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।अनेरास्ववियुबाट राजनीति सुरु गरेका पहाडीले २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरे । २०५१ मा नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क कमिटीको संयोजक बने । २०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य भए । २०६५ नेकपा एमाले सिन्धुली जिल्ला सचिव भए । २०६६ मा सिन्धुली जिल्ला संयोजक ।
०७० मा सिन्धुली १ बाट संविधानसभामा निर्वाचित पहाडी २०७४ मा पुनः सिन्धुली १ बाटै प्रतिनिधिसभामा निर्वाचित भए । त्यसअघि पहाडीसँग २०५४ मा गाविस अध्यक्ष चलाएको अनुभवसमेत छ ।
मोहन बानियाँ : मन्त्री, विनाविभागीय
२०२० साल माघ १५ गते मुगुमा जन्मेका मोहन बानियाँ विनाविभागीय मन्त्री बनेका छन् । श्रीमती, चार छोरा र एक छोरी रहेका बानियाँले स्नातकोत्तर अध्ययन गरेका छन् ।२०३६ सालमा तत्कालीन महाकाली माविको स्ववियुको प्रारम्भिक कमिटी हुँदै राजनीति थालेका उनी २०६४ मा तत्कालीन एमालेको मुगु जिल्ला कमिटी सचिव भए भने २०६९ मा उनी अध्यक्ष बने । २०७१ को नवौं महाधिवेशनबाट उनी एमालेको केन्द्रीय सदस्य बने ।
दोस्रो संविधानसभा चुनावमा मुगुबाट प्रत्यक्ष निर्वाचित बानियाँ ०७४ मा मुगुबाट समानुपातिक तर्फको प्रतिनिधिसभा सदस्य बने ।
२०४८ र २०५४ मा मुगु जिल्ला विकास समिति सभापति बनेका बानियाँले सुकुम्बासी समस्या समाधान आयोगको मुगुको अध्यक्ष भएर पनि काम गरेका छन् । बानियाँ २०४० देखि २०४८ सम्म स्थायी शिक्षक थिए ।
आशाकुमारी विक : वन राज्यमन्त्री
बझाङ स्थायी घर भएकी आशा कुमारी बिक वन राज्यमन्त्री बनेकी छिन् । २०१८ असोज ३० मा रूपन्देहीमा जन्मेकी उनले स्नातकसम्म अध्ययन गरेकी छिन् । उनका श्रीमान्, एक छोरा र एक छोरी छिन् ।२०५९ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै एमालेमा पार्टीमा आवद्ध उनी ०७४ को प्रतिनिधिसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्थिन् ।
नेकपा एमालेमा रहँदा जिल्ला कमिटी सदस्य, मुक्ति समाजको प्रदेश सदस्य र अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनेकी उनी अन्ततः कामचलाउ सरकारको राज्यमन्त्री बनेकी छिन् ।