शिक्षक होइन मास्टर भन्छन हामिलाइ - शिक्षक

शिक्षण पेसा आफैमा एक स्वच्छ, पबित्र र मर्यादित पेसा हुँदाहुँदै पनि शैक्षिक क्षेत्रहरूमा भैरहेको राजनीतिक हस्तक्षेप र राज्यले शिक्षकमाथि गरेको विभेदकारी व्यवहारका कारण लाखौं योग्य र दक्ष शिक्षक यस पेसामा उदासिन देखिन्छन् । जबसम्म राज्यको सौतेनी व्यबहार शिक्षकमाथि रहिरहन्छ र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप चलिनै रहन्छ, तबसम्म शिक्षक शिक्षणमा उत्प्रेरित हुन सक्दैनन् र समग्र देशको शैक्षिक गुणस्तरमा प्रश्न चिन्ह नै रहिरहन्छ । देश तथा राज्यको निर्माता, सम्भारकर्ता भबिष्यका कर्णधारको निर्माता, देश विकासका निमित्त आवश्यक पर्ने हरेक किसिमका दक्ष जनशक्ति डाक्टर, पाइलट, इन्जिनियरदेखि लिएर डकर्मी, सिकर्मी तथा मजदुरको निर्माणकर्ताका रुपमा चिनिने व्यक्ति शिक्षक हो । यतिमात्र नभएर शिक्षक स्वयम शिक्षकको निर्माणकर्ता पनि हो । कुनै पनि देशको सर्वोच्च पद यदि केही छ भने त्यो शिक्षक हो। शिक्षकसँग तुलना गर्न मिने कुनै अर्काे पेसा हुन सक्दैन ।


‘शिक्षक’ शब्दले सिक्ने र सिकाउने अर्थ दिन्छ । यही अर्थ अनुसार शिक्षकको प्रमुख काम भनेको नै नियमित रुपमा नयाँ नयाँ कुराहरू सिक्ने र आफूले सिकेका कुराहरू अरुलाई सिकाउने हो । यसका साथै आफ्नो समाज, देश र विश्व परिवेशमा दिनहुँ घटिरहेका नयाँ नयाँ घटनाहरूसँग परिचित हुने, देश निर्माणका हरेक गतिविधिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुने सहयोग गर्ने, समाजका सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, राजनीतिक आदि क्रियाकलापमा चासो राख्ने र उक्त पक्षमा जानकारी हासिल गरी आफ्ना विद्यार्थीहरुलाई पनि जानकारी प्रदान गर्ने शिक्षकको सामाजिक कार्य हो ।


शिक्षक र शिक्षकको शिक्षण पेसा आफैमा छुट्टै मान मर्यादा तथा सामाजिक आदर र सत्कार बोकेको पेसा हो । शिक्षण पेसा जस्तो पबित्र पेसा अरु केही हुन सक्दैन, किनभने शिक्षक एउटा मैनबत्ती जस्तै हो जुन आफू जलेर अरुलाई उज्यालो दिन्छ । यसरी आफ्नो अस्तित्व नै धरापमा राखी अरुलाई उज्यालो दिनेभन्दा पबित्र पेसा अरु के हुन सक्छ र ? यस्तो सम्मानित र मर्यादित पेसामा संलग्न व्यक्तिले आफ्नो पेसाको गौरव गर्नुपर्ने हो । तर बिडम्बना नेपालमा यो पेसामा संलग्न मानिसहरू उदास देखिन्छन् । उदासिन कुरा गरिरहन्छ्न् । सामाजिक संजालमा आफूमाथि देशले अन्याय गरेको, विभेद गरेको, आफूलाई राज्य तथा समाजले अपहेलना गरेको, शिक्षण पेसाको बेज्जती गरेको, शिक्षण पेसामा संलग्न व्यक्तिलाई राज्यले विश्वास नगरेको भन्ने हजारौं गुनासाहरू पोखिएका देखिन्छ । हामी देख्न सक्छौ, एउटा माध्यमिक तहको स्थायी शिक्षकले निजामती सेवाको खरिदार सरह सामाजिक मान मर्यादा र सम्मान पाइरहेको हुदैन । एउटा सरकारी कार्यालयमा जाँदा त्यहाँका कार्यालय सहयोगीले थर्काएको उदाहरण स्वयम आफैसँग पनि छ तापनि म केही नबोली हस हजुर, हजुर सर हजुर माफ पाऊँ भनेर आउनु परेको थियो । यस्तो लाग्छ कि शिक्षकलाई दिएको शिक्षाले नि असर पारेको हुनुपर्छ ।

कक्षा ११ देखि मैले अध्ययन गर्दाखेरि कहिलै पनि कक्षाकोठाबाट बाहिर आउने शिक्षा पाएन । मैले कसैसित तार्किक कुरा गर्न आफ्ना बिचार अभिव्यक्त गर्न सिकेन । मैले केवल कक्षाकोठामा कसरी प्रभावकारी शिक्षण गर्ने?, कसरी एउटा कुशल र अनुशासित शिक्षक बन्ने ? भन्ने शिक्षा मात्र प्राप्त गरें जुन शिक्षाले मलाई त्यो कार्यालय सहयोगीसित प्रतिउत्तर फर्काउन सहयोग गरेन । बरु त्यो शिक्षाले मलाई ‘माफ पाऊँ’ भन्न सहयोग गर्यो जसको कारण म हेपिएँ । यस्तै धेरै उदाहरणहरू छन समाजमा शिक्षकको मान मर्यादामा कुठाराघात भएका । नेपाली समाजमा मान मर्यादा छ भने ती भ्रष्ट कर्मचारीहरूको छ, ती भ्रष्ट नेताहरूको छ र ती मतिभ्रष्ट राजनीतिक झोलेहरूको छ ।

कुनै पनि व्यक्तिको स्वभाव उसको व्यक्तित्वमा भर पर्छ । शिक्षकको स्वभाव उसको नितान्त व्यक्तिगत कुरा भएकोेले हरेक शिक्षकको स्वभाव फरक फरक देखिनु स्वाभाविक हो । तर समग्र रुपमा शिक्षकको स्वभावको अध्ययन गर्दा अधिकांश शिक्षकहरू सरल, इमान्दार, सोझा तथा सामान्य स्वभावका देखिन्छन् । उनीहरू बढी अनुशासित तथा संयमित स्वभावका देखिन्छन् । सम्भवतः उनीहरूलाई त्यही प्रकारको शिक्षा दिएर होला उनीहरू आफ्नो अधिकारको लागि आफूले पछि हट्नु हुदैन अधिकार मागेर होईन खोसेर प्राप्त गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरूलाई सिकाउछन् । तर आफू आफ्नो अधिकारका लागि आवाज उठाउन डराउछन् । कहिलेकोही त लाग्छ शिक्षकमा भएको यही कमजोरीले गर्दा उनीहरू आफू हेपिएका र अपहेलित भएका हुर्न । आफूलाई राज्यले यस्तो विभेदकारी व्यबहार गर्दा समेत एक शब्द पनि नबोली राज्यले लगाएका हरेक काम अनुशासित र संयमित भएर निर्वाह गर्नु नै शिक्षकको सबैभन्दा ठुलो भुल हो जस्तो लाग्छ । यसो त आफूमाथिको विभेद सहेर गरेको काम तथा थाकेको मनस्थितिले गरेको काम कति नै प्रभाकारी होला र ? त्यसैले मलाई त लाग्छ शिक्षकले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्छ । आफ्ना हक र अधिकारका लागि डराएर हुदैन । शिक्षण अनुशासित पेसा हो भन्दैमा आफ्ना हक अधिकारलाई मन भित्र कुण्ठित पारेर अनुशासनमा बस्नुपर्छ जस्तो लाग्दैन ।

हरेक पेसाका आ–आफ्नै अप्ठ्यारा र चुनौतीहरू छन् । बाहिरबाट हेर्दाखेरि शिक्षण पेसा त समस्यारहित र चुनौतीरहित पेसा जस्तो देखिन्छ । तर वास्तविकता फरक छ । हाम्रो देशको भ्रष्ट नीति र शिक्षा क्षेत्रमा संलग्न भ्रष्ट व्यक्तिको शासनको कारण यो पेसा झन चुनौतीपूर्ण बनेको छ । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनु सबैभन्दा ठुलो चुनौती हो भने झन राज्यले थपेको विभेदकारी व्यबहार त छदैछ । शिक्षकलाई शिक्षण पेसामा भर्ना तथा छनौट हुनु शिक्षकको पहिलो चुनौती हा । शिक्षक निर्माण गर्न विद्यालय र विश्वविद्यालयमा पढाउने विषयबस्तु एकातिर छ भने शिक्षक छनौटका लागि शिक्षक सेवा आयोगले परीक्षा लिने कोर्स अर्कातिर । दुःख गरेर अध्ययन गरी नाम निकालिसकेपछि शिक्षकको पदस्थापनमा राजनीतिक हस्तक्षेप छ ।

राजनीतिक व्यक्तिहरूले आफू अनुकूलको शिक्षकलाई नजिक र आफू अनुकूल नभएकोलाई जिल्लाका दुर्गम बस्तिहरूमा पदस्थापन गर्ने प्रवृत्तिले सोझा शिक्षकहरूलाई झन समस्या सिर्जना गरेको छ । त्यति मात्र होइन शिक्षकको सरुवा र बढुवामा यस्तै खाले राजनीतिक हस्तक्षेप छ । त्यसमा पनि झन आर्थिक चलखेलले शिक्षकको गरिमा र शिक्षकको महिमामा ठुलो सङ्कट आइपरेको छ । शिक्षा क्षेत्रमा यतिसम्म राजनीतिक हस्तक्षेप भयो कि एउटा राम्रोसित जामा लगाउन नजानेको, राम्रोसँग आफ्नो नाम लेख्न नजान्ने, पकाएको खाना राम्ररी खान र सिलाएको लुगा राम्रोसित लगाउन नजान्ने व्यक्तिहरू राजनीतिक लौरो टेकेर विद्यालय आई बर्षाै देखि पढाउदै आएका अनुभवी र शैक्षिक योग्यताका हिसाबले मास्टर, एम फिल र पिएच डि गर्दै गरेका शिक्षकहरूको कक्षा अवलोकन गरी शिक्षकलाई निर्देशन दिनथाले भने शिक्षा क्षेत्रमा आईपरेको यो भन्दा ठुलो बिडम्बना अब के होला र ? यी र यस्तै कैयौं समस्याले शिक्षकको मनस्थितिमा बिकराल अवस्था आएर कैयौं शिक्षक मानसिक रोगी भएका देखिन्छन् । यस्तो अवस्थामा गरेको शिक्षण सिकाई कति फलदायी र प्रभाकारी होला कल्पना गर्न सक्नुहुन्छ? त्यति मात्र होइन, कयौं शिक्षकमाथि शिक्षकले नै समस्या सिर्जना गरिरहेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक दलका झोला बोक्नमा व्यस्त भई राम्रोसित आफ्नो अध्ययन कार्य गर्न नसकेका र राजनीतिक पहुँचबाट अस्थायी तथा करारमा भर्ना भई आयोगबाट सिफारिस भएका दक्ष तथा योग्य शिक्षकहरूलाई राजनीतिक पहुँचको घुर्की लगाई विद्यालयलाई राजनीतिक पाठ सिकाउने थलो बनाएर शिक्षा क्षेत्रको बदनाम गरी शिक्षणलाई जीवनको एक महत्त्वपूर्ण पेसा अँगाल्दै आएका शिक्षकहरूको पेसाप्रतिको वितृष्णता फैलाएका छन् । शिक्षा क्षेत्रको एक ठुलो समस्या यो पनि रहेको छ ।

समग्रमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन तथा सुधार ल्याउनका लागि सकारात्मक र परिवर्तनशील कदम चाल्न जरुरी छ । शैक्षिक क्षेत्रमा सुधार र परिवर्तन ल्याउन सबैभन्दा पहिला शिक्षकलाई शिक्षण कार्यमा उत्प्रेरित गर्नु अति आवश्यक छ । शिक्षक शिक्षणमा तब मात्र उत्प्रेरित हुन्छन् जब शिक्षकलाई हेर्ने विभेदकारी अाँखाको मोतिबिन्दु हट्छ । शिक्षकले तब मात्र आफ्नो ज्ञान र सिपको प्रभावकारी प्रयोग गरी शैक्षिक गुणस्तर कायम गर्न सक्छन् जब शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द हुन्छ । यसको प्राप्तिको लागि शिक्षक स्वयम आफ्ना हक अधिकार र राज्यले आफूमाथि गरेको विभेदका विरुद्धमा बुलन्द आवाज निकाली अगाडि बढ्नु बर्तमान समयको माग बनिसकेको छ । आफ्नो पेसालाई सम्मान गर्दै आफ्नो दैनिक कार्यशैलीमा पनि दिनानुदिन सुधार गर्दै जानुपर्ने हुन्छ भने आफ्नो पेसागत कर्तव्य र शिक्षकको मर्यादा बिर्सेर कुनै भ्रष्ट नेताको पछि लाग्नु शिक्षकको सबैभन्दा ठुलो भुल हुनेछ । तर यी कुरा कसले सुनिदिने ? कसले पढिदिने ? कसले बुझिदिने ? र कसले भनिदिने खै ?

🖎बिनोद राज भट्ट
(लेखक साङकोष मा वि निलकण्ठ धादिङका शिक्षक हुनुहुन्छ)
Next Post Previous Post
No Comment
Add Comment
comment url